Birgunj News24
मन्त्री यादवलाई बदनाम गर्ने नियतले गरिएको दुष्प्रचारको खेद प्रकट गर्दै जसपाको वीरगञ्ज नगर कार्य समितिले बुझाए प्रजिअलाई ज्ञापन पत्र

जनता समाजवादी पार्टीको वीरगञ्ज नगर कार्य समितिले आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । संघीय मन्त्री प्रदीप यादवलाई बदनाम गर्ने नियतले गरिएको दुष्प्रचारको खेद प्रकट गर्दै नगर अध्यक्ष इश्वरचन्द्र यादव नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई भेटेर ज्ञापन पत्र बुझाएको हो । 

ज्ञापन पत्रमा नेपाल सरकारका खानेपानी मन्त्री एवं पार्टीका उपमहासचिव प्रदीप यादव र पार्टीका कार्यकर्तालाई बदनाम गर्ने नियतले जसपा नेपालका जिल्ला अध्यक्षले पत्रकार सम्मेलनमार्फत मनगढन्ते आरोप लगाएको भन्दै उनलाई कारबाही गर्न माग गरिएको छ । 

जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादवको अभिव्यक्तिले समाजमा भाडभैलो निम्त्याउने र शान्तिसुरक्षामा समेत खलल पुग्ने ज्ञापन पत्रमा उल्लेख छ । वीरगञ्जको वडा नं. २२ जगरनाथपुरमा स्थानीय कृषक हरेन्द्र यादवले लगाएको धानबालीमा भएको आगलागीको घटनामा जसपा नेपालका जिल्ला अध्यक्ष रामनरेस यादवले संघीय मन्त्री प्रदीप यादवकै संलग्नता रहेको भन्दै आरोप लगाएका थिए ।

उक्त आरोपलाई जसपा नगर कार्य समितिले भने तथ्य प्रमाण बिनाको मनगढन्ते र प्रायोजित दुष्प्रचार भनेको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आगलागीको घटनाको स्थानीय प्रशासनले छानविन गरिरहेको भन्दै आरोप प्रत्यारोपमा नउत्रिन सबैलाई आग्रह गरेका छन् । 


ज्ञापन पत्र बुझाउन जनता समाजवादी पार्टीका नेता तबरेज अहमद, जिल्ला समन्वय समितिका सभापति समेत रहेका पार्टीका नेता अजय सर्राफ, भिमा यादव लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । सभार :- चोईश खबर 

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १८:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update