
वीरगञ्ज । राष्ट्रिय अर्थतन्त्रमा देखिएका दबाब र प्रभावको समीक्षा तथा समाधानका उपायहरू खोज्न 'एभिन्युज एजेन्डा' अन्तर्गत वृहत अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। वीरगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा वीरगञ्ज उद्योग वाणिज्य मंच, सभाहलमा सम्पन्न कार्यक्रममा अर्थतन्त्रका विभिन्न पक्षहरूबारे गहन छलफल गरियो।
कार्यक्रममा प्रमुख अतिथि माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान अर्थतन्त्रले भोगिरहेका चुनौती र सरकारका आगामी योजनाहरूबारे जानकारी गराए। उहाँले अर्थतन्त्रलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको र नीति तथा कार्यक्रममार्फत सुधार ल्याउन प्रयासरत रहेको बताउनुभयो।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्रका वर्तमान अवस्थाबारे विश्लेषण गर्दै तरलता संकट, आयात नियन्त्रण, र विदेशी मुद्रा सञ्चितिमा सुधारका उपायहरूबारे आफ्नो धारणा राख्नुभयो। उहाँले आर्थिक स्थिरता कायम गर्नका लागि नीति समायोजनको आवश्यकता औंल्याउनुभयो।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले वीरगञ्ज क्षेत्रका व्यवसायीहरूले सामना गरिरहेका समस्याहरू तथा सुझाव प्रस्तुत गर्नुभयो। उहाँले स्थानीय उद्योग र व्यापार प्रवर्द्धन गर्नका लागि सरकारले सहयोगी नीति ल्याउनु पर्ने आवश्यकता औंल्याउनुभयो।
वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले स्थानीयस्तरमा विकासका लागि आर्थिक स्रोतको प्रभावकारी व्यवस्थापन र समन्वयको महत्वबारे प्रकाश पार्नुभयो।
कार्यक्रममा सहभागी व्यवसायी, नीति निर्माता, तथा विज्ञहरूले वर्तमान चुनौतीहरूलाई समाधान गर्नका लागि ठोस कदम चाल्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले समग्र अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको धारणा राखे। साभार :- यात्रा डेली