यौन साथीहरु परिवर्तन गरेकामा लक्षणहरुमा ध्यान दिनपर्छ । भाइरस बोक्नसक्ने जनावरहरु, बिरामी वा मरेका जनावर, बादर, मुसाजस्ता सङ्क्रमणको इतिहास भएकाहरुको सम्पर्कमा आउनु हुँदैन । संदिग्ध जनावर वा मानिससँग सम्पर्कमा आएपछि स्यानिटाइजर वा साबुनपानीले हात धुने गर्नपर्छ । सङ्क्रमित वा संदिग्धको हेरचाह गर्दा पीपीई लगाउने, राम्रोसँग पकाएको मासु मात्र खाने र मङ्कीपक्स सतह र सामग्रीमार्फत पनि सर्नसक्ने भएकाले बिरामी ब्यक्ति वा जनावरको सम्पर्कमा रहेका सामग्रीहरु छुनु हुँदैन । विश्वभर मानव आवतजावत कायम रहेकाले रोकथाम सजिलै होला जस्तो पनि देखिदैन । त्यसैमा नेपाल ट्रान्जिट प्वाइन्ट र आवतजावतले निरन्तरता पाइरहेकाले उच्च जोखिममा रहेको हो । सङ्क्रमणङफैलिएका देशबाट आउने तथा पर्यटकको आगमनमा पनि बढोत्तरी नै छ । विदेशबाट आएकालाई कम्तिमा दुईदेखि तीन हप्ता क्वारेन्टाइनमा बस्ने भने पनि कार्यान्वयनमा छैन । सम्भावित जोखिम भएका देशबाट आउनेमाथि निगरानी राख्ने र क्वारेन्टिनमा राख्नपर्छ । सङ्क्रमितलाई तीन हप्ता आइसोलेसनमा राखी कन्ट्याक्ट ट्रेसिङ अनिवार्य गर्नपर्छ । संक्रमितलाई २१ दिन आइसोलेसनमा राख्नुपर्छ । मंकीपक्सको सङ्क्रमण पुष्टि भई बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने, सङ्क्रमितको सम्पर्कमा आएकाले परीक्षण गर्ने, सम्पर्कमा आएको सतह, स्थान वा कोठा निसङ्क्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने तथा फोहरलाई उचित स्थानमा व्यवस्थापन गर्नपर्छ । अन्तमा, सरकारले निगरानी, फोकल अस्पताल र व्यक्ति, परीक्षण, परामर्श र उपचारको व्यवस्था गरेको छ । तथापि, आम नागरिक जिम्मेवार नहुँदा सरकारको तयारी मात्र पर्याप्त हुँदैन । तसर्थ, ज्वरो आएको तीन दिनभित्र अनुहार, हत्केला र पैतालामा डाबर देखिए स्वास्थ्य मन्त्रालयको हटलाइन १११५ मा जानकारी गराउनपर्छ । एमपक्सको शङ्का वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने, सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्णरुपमा जनस्वास्थ्यका मापदण्डहरु पालना गर्ने, घाउसँग प्रत्यक्ष सम्पर्क हुनसक्ने जोखिममा पञ्जा लगाउने, नियमित रुपमा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, सङ्क्रमितका लुगा, तौलिया, ओछयान, भाडाहरु तातोपानी, साबुन, डिटरजेन्टले धुने गर्नपर्छ । (लेखक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता हुनुहुन्छ)