
काठमाडौं , माघ, ३
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ट्रेड युनियन अधिकारसहित सङ्घीय निजामती सेवा ऐन छिट्टै पारित हुने स्पष्ट गर्नुभएको छ।
बुधबार मन्त्रालयमा आयोजित संक्षिप्त कार्यक्रममा मन्त्री गुप्ताले ट्रेड युनियनका नेताहरूसँग संवाद गर्दै सरकारले ट्रेड युनियन महासंघ खारेज गर्ने कुनै योजना नरहेको जानकारी दिनुभयो। उहाँले हल्लामा भर नपर्न आग्रह गर्दै निजामती कर्मचारीहरूको अधिकार सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो।
मन्त्री गुप्ताले कार्यक्रममा भन्नुभयो, “निजामती सेवा ऐन जारी गर्नका लागि हामी राज्य व्यवस्था समितिमा निरन्तर छलफल गरिरहेका छौँ। बजारमा ‘ट्रेड युनियन खारेज गर्नुपर्छ’ भन्ने हल्ला चलिरहेको छ। तर, तपाइँहरूको हकहितको रक्षाका लागि ट्रेड युनियन आवश्यक छ भन्ने हामीलाई राम्रोसँग थाहा छ। यो ऐन तपाइँहरूको अधिकार सुनिश्चित गर्दै आउनेछ, ढुक्क हुनुहोस्।”
मन्त्री गुप्ताले मन्त्रालयको कार्यभार सम्हाल्नुभएदेखि नै निजामती सेवा विधेयकलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो। यो विधेयक आफ्नो १०० र २०० दिनको प्रगति विवरणमा, साथै प्रधानमन्त्रीसँगको कार्यसम्पादन सम्झौतामा पनि प्रमुख विषयका रूपमा रहेको उहाँले उल्लेख गर्नुभयो।
सरकारले कर्मचारीहरूका हक र अधिकार सुनिश्चित गर्ने दिशामा गम्भीरताका साथ काम गरिरहेको छ। साथै, मन्त्री गुप्ताले ऐन निर्माण प्रक्रियामा ट्रेड युनियनका नेताहरूको रायलाई महत्त्व दिइने प्रतिबद्धता पनि जनाउनुभएको छ।
यो ऐनले निजामती कर्मचारीहरूका अधिकार र जिम्मेवारीलाई कानुनी रूपमा अझ व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।