Birgunj News24
जनता समाजवादी पार्टीका अध्यक्ष अशोक कुमार राईद्वारा सहिद सम्मान तथा गहवा माई मन्दिर पूजा

बिरगंज, नेपाल ५ माघ 
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोक कुमार राई तथा वहाँकी श्रीमतीले आज बिरगंजमा मधेस आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहिदको शालिकमा माल्यार्पण गर्नुभयो। मधेस आन्दोलनका क्रममा वीरगति प्राप्त गरेका सहिदहरूको बलिदानको सम्झनामा आयोजित उक्त कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यस अवसरमा नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादव, बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित जसपाका विभिन्न नेता तथा स्थानीय जनप्रतिनिधिहरू उपस्थित थिए। सहभागीहरूले मधेस आन्दोलनका सहिदहरूको योगदान अविस्मरणीय रहेको बताउँदै मधेसी समुदायको हक, अधिकार र पहिचानको सुनिश्चितताको लागि निरन्तर संघर्ष गर्नुपर्नेमा जोड दिए।

त्यसपछि अध्यक्ष राईले बिरगंजको विश्व प्रसिद्ध गहवा माई मन्दिरमा पूजा अर्चना गर्नुभयो। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको गहवा माई मन्दिर मधेस क्षेत्रका भक्तजनहरूका लागि आस्थाको केन्द्र रहेको छ। अध्यक्ष राईले मधेसको समृद्धि, स्थायित्व र सामाजिक एकताको कामना गर्दै पूजा सम्पन्न गर्नुभयो।

उक्त अवसरमा स्थानीय नागरिकहरू, जसपा कार्यकर्ताहरू तथा धार्मिक संघसंस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति थियो। बिरगंजमा भएको यस कार्यक्रममा सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै धार्मिक आस्थाको अभिव्यक्ति गरिएको देखिएको छ।

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  ०९:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update