
वीरगञ्ज, ७ माघ
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ हेडक्वाटर पर्साले २४औँ सशस्त्र प्रहरी दिवस को अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। सीमा सुरक्षामा खटिँदै आएको सशस्त्र प्रहरीले जाडोयाममा रक्तअभावलाई परिपूर्ति गर्न रक्तदान कार्यक्रम आयोजना गरेको हो। आयोजित रक्तदान कार्यक्रममा १ महिला सहित ५७ जनाले रक्तदान गरेका छन।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ हेडक्वाटर पर्साका गणपति राधेश्याम धिमाल का अनुसार पर्सा जिल्लामा रगतको अभावलाई केही हदसम्म पूर्ति गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको हो। उनले भने, “सशस्त्र प्रहरी बल सीमा सुरक्षाको साथसाथै नागरिकसँग हातेमालो गर्दै अघि बढ्नका लागि यो कार्यक्रम गरेका हौँ। रक्तदान कार्यक्रममा उत्साहजनक सहभागिता रहेको थियो।”
सशस्त्र प्रहरी बलले नेपाल–भारत सीमा क्षेत्रमा स्वास्थ्य शिविर, सचेतना अभियान र समाजसेवा जस्ता कार्यक्रम गर्दै आइरहेको छ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह ले सुरक्षाका साथै सामाजिक उत्तरदायित्वमा सशस्त्र प्रहरी बलको सक्रिय सहभागिताको प्रशंसा गरे। उनले भने, “पर्साका सुरक्षा निकायले सुरक्षाका अतिरिक्त अन्य सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउँदा नागरिकहरूले सहज अनुभूति गरिरहेका छन्।”
सशस्त्र प्रहरी बल पर्साले पछिल्लो समय सुरक्षा कार्यसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कार्यलाई प्राथमिकता दिँदै आएको छ। विशेष गरी नेपाल–भारत सीमा क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन, शिक्षा प्रवर्द्धन, विपद् व्यवस्थापन, आपतकालीन उद्धार, र रक्तदान जस्ता अभियान सञ्चालन गर्दै आएको छ।
रक्तदान कार्यक्रममा स्थानीय सुरक्षा निकायका प्रतिनिधि, स्वयंसेवक तथा प्रहरी अधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यो कार्यक्रमले पर्सा जिल्लामा रगत अभावलाई केही हदसम्म परिपूर्ति गर्ने अपेक्षा गरिएको छ।