-1737453044.jpg)
बिरगंज, ८ माघ – पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा न.५ अन्तर्गत बुखार चौकमा दुर्घटनामा एक जनाको मृत्यु भएको छ। आज बिहान १०:२५ बजे तेजस एकेडेमी +२ कलेजको ना ५ ख १५०४ नम्बरको बसले ठक्कर दिँदा बारा जिल्ला, फेटा गाउँपालिका-५, जोदपुर गम्हरियाका ४२ वर्षीय शैमुदिन अन्सारीको घटनास्थलमै मृत्यु भएको छ।
प्रत्यक्षदर्शीका अनुसार, बस तीव्र गतिमा रहेको र अन्सारी सडक पार गर्ने क्रममा दुर्घटनामा परेका थिए। घटनापछि स्थानीयहरू आक्रोशित बनेका छन्, जसका कारण केही समयसम्म यातायात प्रभावित भएको थियो।
घटनाको जानकारी पाउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय, पर्साको टोली घटनास्थलमा पुगेको थियो। हाल बस र त्यसका चालकलाई नियन्त्रणमा लिइएको छ भने आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि घटनास्थलको अवस्था तनावग्रस्त भएपछि सुरक्षालाई ध्यानमा राख्दै प्रहरीको उपस्थिति बढाइएको छ। स्थानीयहरूले बस चालकलाई कडा कारबाही गर्न माग गरेका छन्। यस विषयमा प्रहरीले मृतकका परिवारसँग समन्वय गरी अगाडि बढ्ने बताएको छ।