
काठमाण्डु, ८ माघ
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र र विपक्षी दल रास्वपाले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका छन् ।
मंगलबार बसेको लेखा समितिको बैठकमा सभापति पोखरेलको श्रीमती सहकारी ठगीमा र स्वकीय सचिव ठगीमा मुछिएको भन्दै उनीहरूले राजीनामा मागेका हुन् । ‘सहकारीमा श्रीमती र भ्रष्टाचारमा पीए पनि जोडिए पनि तपाईं सभापतिमा टाँसिएर बस्नुभएको छ,’ समिति सदस्य तथा सांसद सांसद लेखनाथ दाहालले भने, ‘नैतिक प्रश्न जोडिएपछि मार्गप्रशस्त गर्दिनुस् ।’
उनले लेखा समिति सरकारको लाचार छाया बनेको आरोपसमेत लगाए । ‘सार्वजनिक लेखा समिति सरकारको लाचार छाया जस्तो भयो । यस्तो बनाउँन हुदैन । हामीसँग ९५ उजुरी छन् । छलफल गरेर अगाडि जानुपर्नेमा डन्पिङ गरेर राखिएको छ’ उनले भने ।
लेखा समिति सभापति पोखरेलकी श्रीमती अञ्जला सहकारी ठगीमा मुछिएकी छन् । मोरङको उमा गौरी सहकारी ठगीमा अञ्जला मुछिएकी हुन् । उनी हाल धरौटीमा रिहा भएकी थिईन् । यता पोखरेलका स्वकीय सचिव रहेका अनिल पोखरेल पन ठगीमा मुछिएका छन् । उनी स्वकीय सचिवबाट निलम्बित भइसकेका छन् ।
यस्तै रास्वपाका सांसद हरि ढकालले पनि ऋषिकेश पोखरेलको राजीनामा माग गरेका छन् । समितिको बैठकमा बोल्दै उनले सभापति पोखरेलको राजीनामा मागेका हुन् ।
‘सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षको हुनुपर्छ,’ उनले भनेका छन् । विगतमा समेत सत्तारूढ दलका सांसदले लेखा समिति सभापति नछाडेको विषय उदाहरण नदिन पनि उनले आग्रह गरेका छन् ।
‘हिजो विगतमा के बिग्रेको थियो भनेर त्यही गर्नुपर्छ भन्ने होइन । लेखा समिति सभापति प्रतिपक्षीको हुने विश्वव्यापी मान्यता छ,’ सांसद ढकालले भने ।