
वीरगञ्ज, माघ १० गते
पर्सा जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारलगायत प्रशासन कार्यालयको मातहतका मुद्दाहरू छिटो र प्रभावकारी रूपमा टुङ्ग्याउने उद्देश्यले नयाँ इजलास स्थापना गरिएको छ।
इजलासको उद्घाटन पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले बिहीबार रिबन काटेर गरेका थिए। उद्घाटन समारोहमा बोल्दै सिडिओ अर्यालले नयाँ इजलास स्थापनाले प्रशासनको मातहतमा रहेका मुद्दाहरूलाई छिटो, सहज र प्रभावकारी रूपमा टुङ्ग्याउन मद्दत पुग्ने बताए।
सिडिओ अर्यालका अनुसार नयाँ इजलासले नागरिकहरूको न्यायिक पहुँचलाई सरल बनाउनेछ। उनले भने, “यो कदमले नागरिकलाई छिटो न्याय दिने काममा सहयोग पुर्याउनेछ।”
जिल्ला प्रशासन कार्यालयका अनुसार नागरिकमैत्री प्रशासन सुनिश्चित गर्न आवश्यक पूर्वाधार निर्माणको प्रक्रियाअन्तर्गत यो इजलास स्थापना गरिएको हो। यसले शान्ति, सुव्यवस्था, र नागरिकहरूको सहज पहुँचलाई सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
यसअघि रुपन्देहीमा उत्कृष्ट प्रमुख जिल्ला अधिकारीको रूपमा ख्याति कमाएका सिडिओ अर्याल पर्सा जिल्लामा पनि आफ्नो नेतृत्वमा शान्ति र सुव्यवस्थाको अनुभूति गराउँदै नागरिकहरूको प्रशंसा बटुल्न सफल भएका छन्।
प्रशासनको यो नयाँ प्रयासले नागरिकलाई सहज न्याय प्रदान गर्दै कानूनी प्रक्रियालाई प्रभावकारी बनाउने विश्वास लिइएको छ।