-1737969432.jpg)
वीरगञ्ज, १४ माघ
सशस्त्र प्रहरी बल पर्साले विशेष सूचनाका आधारमा सोमबार बिहान वीरगञ्ज महानगरपालिका-१०, आदर्शनगरस्थित एक गोदाममा छापामारी गरी ठूलो परिमाणमा भन्सार छली ल्याइएका कपडा र हार्डवेयरका सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल पर्साको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जका नायब उपरीक्षक लोकेन्द्र सुब्बाको नेतृत्वमा उक्त छापामारी गरिएको हो। छापामारीको क्रममा भन्सार प्रक्रिया नपुर्याई ल्याइएका विभिन्न प्रकारका कपडा र हार्डवेयर सामग्री फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएको सामानको मूल्याङ्कन प्रक्रिया जारी रहेको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको छ। कपडाको वास्तविक मूल्याङ्कन र सामानको स्रोत पत्ता लगाउनका लागि थप अनुसन्धान भइरहेको नायब उपरीक्षक सुब्बाले बताए।
सशस्त्र प्रहरी बलले विशेष सूचनाका आधारमा गोप्य तरिकाले अपरेसन सञ्चालन गर्दै सामान बरामद गरेको हो। यसले भन्सार छलीका क्रियाकलाप रोक्न सशस्त्र प्रहरी बलको सक्रियता र प्रतिबद्धतालाई उजागर गरेको छ ।
भन्सार छलीबाट आएका सामानले बजारलाई असन्तुलित बनाउने र राजस्व चुहावट बढाउने भएकाले सशस्त्र प्रहरी बलको यो कदम अत्यन्त महत्वपूर्ण मानिएको छ। बरामद सामानको थप विवरण र यसमा संलग्न व्यक्तिहरूको पहिचान सार्वजनिक हुने अपेक्षा गरिएको छ।
सम्बन्धित निकायले छानबिनलाई तिव्रता दिई कानुनी कारबाही अघि बढाउने तयारी गरिरहेको छ।