
वीरगञ्ज, १५ माघ
सामाजिक सेवामा सक्रिय युनाइटेड नेपाल फाउन्डेसन वीरगञ्जले वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग प्रदान गरेको छ।
मंगलबार वीरगञ्ज-८ स्थित कपडा बैंकको कार्यालयमा पुगेर फाउन्डेसनका अध्यक्ष आकाश दास, सचिव पीयूष अग्रवाल र कार्यक्रम संयोजक कुनाल श्रीवास्तवले ३ बोरा र २ झोला कपडा बैंकका अध्यक्ष लालबाबु सिंहलाई हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा वीरगञ्ज कपडा बैंकका कोषाध्यक्ष मनोज मिश्र र कर्मचारी शोभा देवी लगायतको उपस्थिति रहेको थियो।
सो अवसरमा फाउन्डेसनका अध्यक्ष दासले कपडा बैंकले विगत लामो समयदेखि विपन्न, दुःखी, असहाय तथा आगलागी र बाढी पीडितहरूलाई निस्वार्थ सेवा दिँदै आएको कार्यमा आफूहरू खुशी रहेको बताए।
"हाल चिसो मौसममा बिपन्न असहायहरूले नयाँ न्यानो कपडा किन्न नसक्ने भएकाले कपडा बैंकको सुकार्यमा हातेमालो गर्न हामीले केही कपडा सहयोग गरेका हौं। आगामी दिनमा पनि निरन्तर साथ र सहयोग रहनेछ," अध्यक्ष दासले प्रतिबद्धता जनाए।
कार्यक्रममा कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले संस्थाको उद्देश्यबारे जानकारी दिँदै भने,
"तपाईंसँग धेरै छ भने दिनुहोस्, तपाईंलाई आवश्यक छ भने निःशुल्क लिनुहोस्" भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै हामीले ६ वर्षदेखि वीरगञ्ज-८ मा कार्यालय स्थापना गरी पर्सा र बाराका विभिन्न स्थानमा सेवा दिँदै आएका छौं।
उनले युनाइटेड नेपाल फाउन्डेसनले विभिन्न समयमा सेवा प्रदान गर्दै आएकोमा आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेका छन्।
उनले जाडो बढिरहेकाले न्यानो कम्बल, शाल, ज्याकेट, स्वेटर, इनर, टोपी, पाइन्ट, सर्ट लगायतका कपडाहरू सहयोग गर्न सबै मानवताप्रेमी सहयोगी हातहरूलाई आग्रह गरे।