Birgunj News24
लागूऔषध कारोबारमा संलग्न गिरोहको १० करोड बराबरको सम्पत्ति जफतको माग

वीरगञ्ज, १६ माघ 
लागूऔषध कारोबारमा संलग्न एक गिरोहका सदस्यहरूसँग करिब १० करोड रुपैयाँ मूल्य बराबरको अवैध सम्पत्ति रहेको पाइएको छ। नेपाल प्रहरीले सो सम्पत्तिको अनुसन्धान गरी सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले बारा परवानीपुर–३ का प्रदीप सर्राफलाई गत असोज २ गते लागूऔषधसहित पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा उनी गिरोहको माथिल्लो तहका कारोबारी भएको पुष्टि भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सर्राफले यही अपराधबाट अकुत सम्पत्ति आर्जन गरेका छन्, जसका कारण उनलाई १० करोड ८६ हजार पाँच सय ८० रुपैयाँ बिगो कायम गरी सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको छ।
नेपाल प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यका अनुसार ब्युरोको ३२ वर्षे इतिहासमा पहिलो पटक लागूऔषध कारोबारीको सम्पत्ति खोजी गरी मुद्दा दायर गरिएको हो। गत वैशाखदेखि प्रहरीले सम्पत्ति शुद्धीकरणमा आफैं अनुसन्धान गर्ने अधिकार पाएको छ। प्रहरीका अनुसार सर्राफको घर, जग्गा तथा बैंक खातामा रहेको नगद जफत गर्न माग गरिएको छ।
यसअघि, प्रहरीले गत भदौ ३१ गते बालाजु पवित्र नगरबाट ९ हजार क्याप्सुल ट्रामाडोलसहित पर्वतका बालकृष्ण अधिकारीलाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा झापाकी सम्झना रोक्का पनि पक्राउ परेकी थिइन्। रोक्काले दिएको बयानका आधारमा बाराका सर्राफ र मनमोहन श्रेष्ठ पक्राउ परेका हुन्। हाल चारै जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले लागूऔषध कारोबार तथा त्यसबाट आर्जित अवैध सम्पत्तिमाथि थप कडाइ गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १७:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update