-1738252650.jpg)
वीरगंज, १७ माघ
जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको ६ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नम्बर १०, आदर्शनगर बाट उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, बिआर ०५ क्यु ४३८४ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकलमा भारततर्फ गइरहेका पूर्वी चम्पारण, मोतिहारी थाना रक्सौल ग्राम वडा नम्बर १४ निवासी २७ वर्षीय ओम कुमार रौनियारलाई शंका लागि रोकी जाँच गरिएको थियो।
प्रहरीले जाँच गर्दा रौनियारको मोटरसाइकलको लेगार्डमा लुकाएर राखिएको प्लास्टिकको बोरामा ‘गोल्ड प्रिमियम जिरा राइस’ लेखिएको थैली भित्र नगद फेला परेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्साल ले जानकारी दिए।
उनका अनुसार, बोराबाट नेपाली ५ सय दरका नोट १२ सय थान बरामद भएको, जसको जम्मा रकम ६ लाख रुपैयाँ रहेको छ।
प्रहरीले पक्राउ परेका रौनियारलाई स्रोत नखुलेको रकमसहित आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।