
बारा, १९ माघ
बारा जिल्लाको विश्रामपुर गाउँपालिका-५, ईंटियाहीमा श्री श्री १००८ श्री महाशिवरात्रि महामहोत्सव महायज्ञ २०८१ तथा श्री शिव शक्ति कोटी होम महायज्ञ आयोजना गरिँदै छ। धार्मिक तथा सांस्कृतिक चेतना प्रवर्द्धन गर्दै नयाँ तथा युवा पुस्तालाई सनातन हिन्दू धर्मको महत्त्व, विशेषता र महानता को जानकारी गराउने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो।
झन्डै १५ वर्षपछि पुनः आयोजना हुन लागेको यस महायज्ञ माघ २३ गतेदेखि फागुन १८ गतेसम्म सञ्चालन हुने तय भएको छ। वीरगञ्जस्थित नेशनल मेडिकल कलेजसँग जोडिएको ईंटियाही क्षेत्र यस धार्मिक अनुष्ठानको केन्द्र बन्नेछ। नेपालसहित विश्वभरि शान्ति र समृद्धि स्थापनाका लागि समर्पित रहने महायज्ञमा देशभरका श्रद्धालु भक्तजनहरूको सहभागिता रहने अनुमान गरिएको छ।
महायज्ञपूर्व बृहत् शोभायात्रा समेत आयोजना गरिएको छ। हजारौँको सङ्ख्यामा श्रद्धालु तथा भक्तजनहरूले सहभागिता जनाएको यस शोभायात्रा महायज्ञ स्थलबाट सुरु भई वीरगञ्ज मुख्य बजार पुगेर पुनः महायज्ञ स्थलमै फर्किएको थियो।
महायज्ञको प्रचारप्रसार तथा स्थानीयहरूलाई जानकारी गराउने उद्देश्यले शोभायात्रा आयोजना गरिएको आयोजकहरूले बताएका छन्। भक्तजनहरू भजन-कीर्तनसहित झाँकी, बाजागाजा, ध्वजा-पताकासहित शोभायात्रामा सहभागी भएका थिए। आयोजक समितिले महायज्ञमा सबै धर्मप्रेमी श्रद्धालुहरूलाई उपस्थित भई धर्मलाभ लिन आग्रह गरेको छ।