Birgunj News24
जसपाद्वारा सरकारी अध्यादेशबारे विज्ञसँग छलफल 

काठमाडौं, २२ माघ 
जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले ल्याएका अध्यादेशबारे विज्ञहरूसँग छलफल थालेको छ। सिंहदरबारस्थित पार्टी कार्यालयमा गठन गरिएको कार्यदलले अध्यादेशको अध्ययन तथा परामर्श गरिरहेको छ।
कार्यदलका संयोजक राजकिशोर यादवका अनुसार, सरकारले जारी गरेका अध्यादेशको विस्तृत अध्ययन गरी स्वीकृत वा अस्वीकृत गर्नेबारे निर्णय गर्ने तयारी भइरहेको छ।
सोमबार बसेको जसपा नेपालको कार्यकारिणी समितिको बैठकले राजकिशोर यादवको नेतृत्वमा कार्यदल गठन गरेको थियो।
माघ २४ गते जसपा नेपालको संसदीय दलको बैठक बस्नेछ। सो बैठकमा कार्यदलले अध्यादेशबारे प्रतिवेदन प्रस्तुत गर्नेछ। प्रतिवेदनका आधारमा अध्यादेशलाई स्वीकृति दिने वा अस्वीकार गर्नेबारे निर्णय गरिनेछ।
मन्त्रिपरिषद्को सिफारिसमा पुस १४ गते राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश २०८१ जारी गरेका थिए।
पुस २९ गते चार वटा नयाँ अध्यादेश जारी गरियो। माघ २ गते अर्को अध्यादेश जारी गरियो। गत शुक्रबार (माघ १९) यी सबै ६ वटा अध्यादेश संघीय संसदमा प्रस्तुत गरियो।
सरकारले माघ २४ गते संघीय संसदको दुवै सदनमा यी अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरिरहेको छ। तर, विपक्षी दलहरूले अध्यादेशको विरोध गर्दै प्रतिनिधि सभामा ५० वटा र राष्ट्रिय सभामा १६ वटा अस्वीकृतिको सूचना दर्ता गराएका छन्।
सरकारी अध्यादेशको भाग्य अब संसदीय छलफलपछि टुंगो लाग्नेछ।

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १६:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update