Birgunj News24
भूमिहीन दलित तथा सुकुम्बासीका समस्या समाधान गर्न पर्सामा अन्तरक्रिया

बिरगंज, २२ माघ
पर्सामा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका सम्बन्धमा आज दलित अगुवा तथा अधिकारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। भूमि समस्या समाधान आयोग, पर्साले वास्तविक समस्या र समाधानका उपायबारे छलफल गर्न अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो।

जिल्ला प्रशासन कार्यालय, पर्साको सभाकक्षमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भूमिहीन दलित तथा सुकुम्बासीलाई निष्पक्ष रूपमा जग्गा वितरण गरिने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “भूमि सम्बन्धी समस्या गरिब, भूमिहीन र दलितको मुख्य समस्या हो, त्यसैले यसलाई निष्पक्ष रूपमा समाधान गर्न हामी प्रतिबद्ध छौं। पर्सा जिल्लामा कुनै पनि प्रकारको दबाब वा प्रभाव बिना काम हुनेछ, ढुक्क रहनुहोस्।”

उनले १८ औं पटक गठन भएको भूमि समस्या समाधान आयोगलाई अब १९ औं पटक गठन गर्नुपर्ने अवस्था नआओस् भनेर गम्भीर रूपमा काम गर्नुपर्नेमा जोड दिए। साथै, आयोगले अपनाएको प्रक्रिया तथा मापदण्डका विषयमा सही सूचना प्रवाह गर्न दलित अगुवा तथा अधिकारकर्मीहरूलाई आग्रह गरे।

भूमि समस्या समाधान आयोग, पर्साका अध्यक्ष तबरेज अहमदले पनि आफ्नो कार्यकालमै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विगतका अनुभवबाट सिक्दै अब तीव्र गतिमा काम अघि बढिरहेको उल्लेख गरे। अध्यक्ष अहमदका अनुसार जसको समस्या हो, उसैले समाधानका लागि पहल र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ।

अन्तरक्रिया कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ की सदस्य संगीता दास, राष्ट्रिय दलित पत्रकार संघ, पर्साका अध्यक्ष श्याम पासवान, पत्रकार बृजलाल पासवान, दलित महिला संघकी निला राम, लबकुश बैठा, बुनेल राम, शिवनारायण राम लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण नापी कार्यालयका अधिकृत राजकुमार विश्वकर्माले गरेका थिए।

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  २१:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update