
महोत्तरी, २५ माघ
जिल्ला प्रहरी कार्यालय महोत्तरीले ६०४ किलो गाँजासहित एक जना पक्राउ गरेको छ। बिहीबार राति जलेश्वर–बर्दिबास सडकखण्डको भंगहा नगरपालिका–६ मजरामा गरिएको छड्के कारबाहीमा उक्त परिमाणको गाँजा बरामद गरिएको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र अस्थायी प्रहरी पोस्ट जमुनियाको संयुक्त टोलीले प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकको हुडमा डोरीले बाँधेर कालो प्लास्टिकले छोपिएको अवस्थामा रहेको गाँजा फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी निरीक्षक नन्दकिशोरप्रसाद चौहानका अनुसार विशेष सूचनाको आधारमा गरिएको कारबाहीमा ट्रक चालक गणेशबहादुर विश्वकर्मा (२३), स्थायी निवासी उदयपुर कटारी नगरपालिका–१ लाई नियन्त्रणमा लिइएको छ।
प्रहरीले पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ। साथै, गाँजाको अवैध तस्करी रोक्न कडाइ गरिने र जिल्लाभर निगरानी बढाइने प्रवक्ता चौहानले बताएका छन्।