
बारा, २५ माघ
बारा जिल्ला प्रशासन कार्यालयको टोलीले शुक्रबार भूमि सुधार तथा मालपोत कार्यालय बारामा छड्के अनुगमन गरेको छ। अनुगमनका क्रममा १७ जना कर्मचारी अनुपस्थित रहेको पाइएको छ।
प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र प्रसाद यादवको नेतृत्वमा गरिएको अनुगमन सेवाग्राहीको गुनासोपछि गरिएको हो। सेवाग्राहीहरूले कार्यालय समयमा कर्मचारीहरू उपस्थित नभएको, सेवा प्रवाह ढिलो भएको लगायतका गुनासो गरेपछि प्रशासनले आकस्मिक अनुगमन गरेको थियो।
अनुगमनका क्रममा मालपोत अधिकृत उदयशंकर चौधरी, नायब सुब्बा राजकिशोर चौधरी, रामजी साह, कम्प्युटर अपरेटर जितेन्द्र प्रसाद यादव, कार्यालय सहयोगी, चौकीदार तथा स्विपर समेत अनुपस्थित रहेको पाइएको छ।
मालपोत कार्यालय बाराका प्रमुख सालिकराम ढकालले अनुपस्थित कर्मचारीहरूको हाजिरी काटिएको पुष्टि गरेका छन्। साथै, प्रमुख प्रशासकीय अधिकृत यादवले सबै कर्मचारीलाई नियमित रूपमा कार्यालय समयमा उपस्थित भई छिटो-छरितो सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।
अनुगमनका क्रममा आएका सेवाग्राहीहरूले मालपोत कार्यालयमा कर्मचारीहरू ढिलो आउने, समयमा नबस्ने र सेवा प्रवाहमा ढिलाइ हुने गरेको गुनासो गरेका थिए। यसअघि पनि कार्यालयमा कर्मचारीहरूको उपस्थितिबारे गुनासो आउने गरेको प्रशासनले जनाएको छ।
प्रशासनले यस्ता अनुगमनलाई निरन्तरता दिने र सेवाग्राहीलाई प्रभावकारी सेवा दिन बाध्य पारिने जनाएको छ।