Birgunj News24
बारा प्रहरीले ९ बिगाह अवैध गाँजाखेती नष्ट गर्यो

बारा, २५ माघ 
अवैध गाँजा खेती नियन्त्रणका लागि बारा प्रहरीले व्यापक कारबाही गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा विभिन्न प्रहरी इकाइहरूको संयुक्त टोलीले ९ बिगाह क्षेत्रफलमा फैलिएको अवैध गाँजाको खेती फडानी तथा नष्ट गरेको छ।
इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–२२ स्थित चकरी गाउँ र नयाँ बस्ती क्षेत्रमा रहेको ५ बिगाह क्षेत्रफलको गाँजाखेती फडानी गरेको छ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका वडा नम्बर १२ र १३ मा फैलिएको ४ बिगाह क्षेत्रफलमा लगाइएको अवैध गाँजाखेती नष्ट गरेको छ।
प्रहरीका अनुसार, जिल्लामा अवैध लागुऔषध खेती नियन्त्रण गर्न अभियानलाई थप कडाइ गरिने छ। यसअघि पनि प्रहरीले बिभिन्न ठाउँमा अवैध गाँजा खेती नष्ट गर्ने कार्य गरेको थियो।
जिल्ला प्रहरी कार्यालय बाराले अवैध गाँजा खेतीमा संलग्न व्यक्तिहरू पहिचान गरी आवश्यक कानुनी कारबाही गरिने जनाएको छ। प्रहरीले यस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह समेत गरेको छ।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १४:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update