
काठमाडौं, २५ माघ
गृहमन्त्री रमेश लेखकलाई कारबाहीको माग गर्दै दलित अधिकारकर्मीहरूले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा विरोध प्रदर्शन गरेका छन्।
दलित अधिकारकर्मी खगेन्द्र सुनारको नेतृत्वमा गएको टोलीले कांग्रेस कार्यालयमा नाराबाजी गर्दै केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
दलित अधिकारकर्मीहरूका अनुसार, सर्लाहीमा अन्तरजातीय विवाह गरेका सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियारलाई गृहमन्त्रीकै निर्देशनमा पक्राउ पुर्जी जारी गरिएको भन्दै त्यसको विरोध गरिएको हो। उनीहरूले गृहमन्त्रीमाथि कारबाही हुनुपर्ने माग गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले "दलित हिंसा गर्ने गृहमन्त्रीलाई कारबाही गर", "जातीय हिंसामा संलग्न गृहमन्त्रीलाई बर्खास्त गर" लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
यसै विषयमा बिहीबार बसेको संसद् बैठकमा धेरै सांसदहरूले गृहमन्त्री लेखकमाथि प्रश्न उठाएका थिए। आज जारी संसद् बैठकमा पनि गृहमन्त्री लेखक र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरमाथि छानबिन गर्नुपर्ने माग उठेको छ।
दलित अधिकारकर्मीहरूले जातीय विभेदविरुद्ध कडा कदम चाल्न सरकारलाई चेतावनी दिँदै निरन्तर आन्दोलन गर्ने घोषणा गरेका छन्।