
काठमाडौं : भारतको ओडिसा राज्यमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा नेपाल स्थित भारतीय राजदूतावासले कारबाही प्रक्रिया अघि बढेको जनाएको छ ।
दूतावासले ओडिसा राज्य सरकार तथा केआईआईटीसँग निरन्तर समन्वयमा रहेको बताउँदै दोषीमाथि आवश्यक कानुनी कारबाही अघि बढेको बताएको हो ।
दूतावासले घटनामाथि प्रहरीले अनुसन्धान बढाएको, आरोपित विद्यार्थीलाई पक्राउ गरी न्यायिक हिरासतमा पठाइएको समेत जनाएको छ । त्यस्तै: विश्वविद्यालयका सुरक्षा गार्डहरूले नेपाली विद्यार्थीहरूमाथि गरेको हातपातसम्बन्धी उजुरीलाई लिएर सुरक्षाकर्मीहरूलाई पनि पक्राउ गरेको जनाएको छ । दूतावासले ओडिसा प्रहरीलाई उद्धृत गर्दै ‘निष्पक्ष, पारदर्शी र न्यायोचित अनुसन्धान गर्ने’ प्रतिबद्धता जनाएको छ ।
त्यस्तै ओडिसा राज्य सरकारले घटनाको छानबिनका लागि गृह विभागका अतिरिक्त मुख्य सचिवको नेतृत्वमा एक उच्चस्तरीय समिति गठन गरेको छ । सो समितिको प्रतिवेदनका आधारमा आवश्यक कानुनी र प्रशासनिक कारबाही गरिने दूतावासले विज्ञप्तिमा भनेको छ ।
केआईआईटीका उपकुलपतिले आफ्ना कर्मचारीहरूको टिप्पणी र व्यवहारको लागि खेद व्यक्त गर्दै सार्वजनिक माफी मागेका छन् भने सबै नेपाली विद्यार्थीहरूलाई नियमित शिक्षामा सामेल हुन अपिल गरेको दूतावसाले जनाएको छ ।
विश्वविद्यालयले ‘साइन डाइ’ आदेश फिर्ता लिँदै नेपाली विद्यार्थीहरूको सहजताका लागि २४ सै घण्टा सञ्चालन हुने हेल्पडेस्क स्थापना गरेको छ ।
ओडिसा प्रहरीले नेपाली विद्यार्थीहरूलाई सहयोगका लागि २४ सै घण्टा सञ्चालन हुने हेल्पलाइन नम्बर (+९१-८२८०३३८३०१) उपलब्ध गराएको दूतावासले जनाएको छ।