Birgunj News24

काठमाडौँ, १३ फागुनः परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जेनेभामा द्विपक्षीय भेटवार्ताहरुमा व्यस्त रहनुभएको छ । नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएकी परराष्ट्रमन्त्री डा देउवाले विभिन्न देशका आफ्ना समकक्षी तथा अन्य मन्त्रीहरुसँग ‘साइडलाइन’ भेटवार्ता गर्नुभएको छ । ती भेटवार्ताका क्रममा मन्त्री डा देउवाले संयुक्त राष्ट्रसङ्घको सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद्को सदस्य, २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद्को सदस्य एवं सन् २०३७ देखि २०३८ सम्मका लागि सुरक्षा परिषद्को अस्थायी सदस्यमा उम्मेदवारी घोषणा गरेको नेपाललाई सहयोग गर्न सबैसँग आग्रह गर्नुभएको छ । साथै जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयलाई मुख्य ‘थिम’ बनाएर आगामी ‘मे’ मा नेपालमा आयोजना हुने सगरमाथा संवाद कार्यक्रममा बढीभन्दा बढी अन्तरराष्ट्रिय समुदायलाई सामेल गराउने तयारी भइरहेको जानकारी दिँदै उहाँले जलवायु परिवर्तनसम्बन्धी सो कार्यक्रममा सहभागी भइदिन समकक्षी एवं नेताहरुलाई आमन्त्रण गर्नुभयो । त्यसैगरी, भेटवार्ताका क्रममा मन्त्री डा देउवाले नेपाल सन् २०२६ मा विकासोन्मुख राष्ट्रका रुपमा स्तरोन्नति हुने चरणमा रहेकाले त्यसपछिको अवस्थामा नेपाललाई आवश्यक पर्नसक्ने सहयोगका लागि पनि विभिन्न देशका आफ्ना समकक्षीहरु तथा मन्त्रीहरुसँग आग्रह गर्नुभयो । सोमबार मन्त्री डा देउवाले नर्वेका उपविदेशमन्त्री एन्ड्रे क्राभिकसँग भेटवार्ताका क्रममा नेपालको शान्ति प्रक्रियाका साथै आर्थिक–सामाजिक विकासका क्षेत्रमा पु¥याउँदै आएको सहयोगका लागि नर्वे सरकारलाई धन्यवाद दिनुभयो । उहाँले जलवायु परिवर्तनका कारण आफूलाई परेको असर तथा जलवायु न्यायका बारेमा अन्तरराष्ट्रिय मञ्चहरुमा नेपालले आवाज उठाउँदै आएको प्रसङ्ग उल्लेख गर्दै नर्वे सरकारबार आवश्यक साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । साथै नेपाल सन् २०२६ मा विकासोन्मुख राष्ट्रका रुपमा स्तरोन्नति हुने चरणमा रहेकाले त्यसपछिको अवस्थामा नेपाललाई पर्ने सहयोगका लागि पनि परराष्ट्रमन्त्री डा देउवाले नर्वे सरकरको सहयोगको अपेक्षा गर्नुभयो ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update