Birgunj News24
चलचित्र पत्रकार संघ पर्सा र मिस स्कार्लेटको टिमबिच अन्तरक्रिया

वीरगञ्ज, १ फागुन । वीरगञ्जले चलचित्रमार्फत पर्यटन भित्र्याउने प्रचुर सम्भावना बोकेको कान्तिपुर फिल्म एकेडेमीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रकाश पुरीले बताए । चलचित्र पत्रकार संघ पर्साले सोमवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सिईओ पुरीले वीरगञ्ज आर्थिक एवम् व्यापरिक नगरीसँगै कला र कलाकारको शहरसमेत भएको बताए । वीरगञ्जकै निर्देशक र मुख्य कलाकारलाई समावेश गरिएको वेब सिरिजले उनीहरुलाई अझै राम्रो अवसर प्रदान गर्नेमा उनी विश्वस्त छन् । 

वेब सिरिज ‘मिस स्कार्लेट’ को छायांकनका क्रममा वीरगञ्जमा बिताइएको दुई हप्ताको समयले यहाँको रहनसहन, चालचलनसँगै रितिरिवाज र संस्कृति केही हदसम्म बुझ्न पाइएको बताउँदै उनले ति संस्कृतीलाई चलचित्रमार्फत जगेर्ना गर्नुपर्नेमा उनले जोड दिए । 

वेब सिरिजमार्फत निर्देशनमा डेब्यु गरेका निर्देशक बलिराम चौहानले भाषा र स्थानभन्दा पनि चलचित्रको कथावस्तु र गुणस्तरमा प्रतिस्पर्धा गर्ने समय भएको बताए । मिस स्कार्लेट वेब सिरिज निश्चित क्षेत्र भन्दा पनि विश्वका हरेक ठाउँका व्यक्तिले अपनत्व गर्ने दावी चौहानको छ । उनले भने, ‘यो सिरिजको कथा वस्तुले सानो बालकदेखि बृद्धसम्मको अवस्थालाई चित्रण गरेको हुँदा सबैले मन पराउनुहुन्छ भन्नेमा हाम्रो टिम ढुक्क छ ।’ थुप्रै नेपाली चलचित्रको छायांकन गरीसकेका छायांकार शेरबहादुर तामाङ्सहित दर्जनौ चलचित्रहरुमा सहायक निर्देशन गरीसकेका सुदिप कुवँर लगायतसँग काम गर्न पाउँदा गर्वान्वित महसुस भएको पनि चौहानले सुनाए । 

वेब सिरिजका मुख्य सहायक निर्देशक सुदिप कुवँरले प्रचुर सम्भावना भएर पनि वीरगञ्ज निर्देशक एवम् निर्माताहरुको नजरमा पर्न नसकेकोमा चिन्ता व्यक्त गरे । तेस्रो पटक वीरगञ्ज आउँदा धेरै कुराको परिवर्तन भएको उनी बताउँछन् । व्यवसायिक शहरमा चलचित्रको पनि बजार बिस्तार गर्न सकेमा नेपाली चलचित्र उद्योगले यहाँबाटै पनि राम्रो उपलब्धी हुने उनको बुझाई छ । 
सिरिजमा प्रमुख भूमिका निभाएकी गीत बिष्टले पनि वीरगञ्जमा छायांकनको अनुभव अविस्मरणीय भएको बताइन् । सबै टिमसँग काम गर्दा कुनै पनि किसिमको असहज नभएको बताउँदै उनले पारिवारीक माहोलले अभिनयलाई पनि सहज बनाइदिएको प्रतिक्रिया दिइन् । 

बिष्टकै भनाईमा समर्थन जनाउँदै कलाकार शबी थापाले पनि निर्माण पक्षले केही कुराको पनि कमी हुन नदिएको बताइन् । यसपटकको वीरगञ्ज बसाई समग्रमा सुखद भएको बताउँदै उनले फेरी पनि चलचित्र सुटिङ्देखि अन्य कामले पनि वीरगञ्ज आउने इच्छा प्रकट गरीन् । 

चर्चित निर्माण टिमसँग काम गर्ने अवसर पाउँदा वीरगञ्जका कुल श्रेष्ठ (कमल ओझा) पनि मक्ख छन् । यही सिरिजमार्फत नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका श्रेष्ठ दर्शकहरुले आफ्नो अभिनय र सिरिजको कथावस्तुलाई रुचाउनेमा विश्वस्त छन् । छलफलका क्रममा कलाकार दिपक खड्की, सुमित्रा अधिकारी, दिलिप नेपाल लगायतले पनि आ–आफ्नो अनुभव सुनाएका थिए । 

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  २२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update