वीरगञ्ज, ३ फागुन। यही फागुन ५ गते वीरगञ्जमा मिस नेपाल २०२३ को अडिशन हुने भएको छ । द हिडेन ट्रेजरले बुधवार वीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गर्दै यही शुक्रवार वीरगञ्जमा अडिशन हुने जानकारी गराएको हो ।
अडिशनमा सहभागीहरुलाई बिहिवार (भोली) अभिमुखीकरण गरिनेछ भने शुक्रवार अडिशन हुने द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले जानकारी दिए । उनका अनुसार मिस नेपाल २०२३ मा सात वटै प्रदेशको प्रतिनिधित्व गराउने तयारी छ । सोही तयारीबमोजिम ७ वटै प्रदेशमा अडिशन सञ्चालन हुने पनि उनले जानकारी दिए ।
उनका अनुसार यहि चैत १ गतेसम्म मिस नेपाल २०२३ का लागि आवेदन दिन सकिनेछ । १८ देखि २७ वर्षका अविवाहित, न्यूनतम ५ फिट ३ इन्च उचाई, नेपाली नागरिकता सहित नेपाली पासपोर्ट भएका युवतीले आवेदन दिन सक्ने द हिडेन ट्रेजरका प्रमोद कंसकारले बताए ।
आवेदन फारम निशुल्क रहेको छ । प्रतियोगिताबाट तीन मुख्य विजेताहरू मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल छनौट हुनेछन् ।
काठमाडौं, इटहरी, वीरगञ्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढी लगायत क्षेत्रिय अडिसनहरु मार्च १५ भित्र सम्पन्न गरिने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा मिस नेपाल अर्थ डा.सरिशा श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र वीरगञ्ज क्षेत्रका रिजनल कोअर्डिनेटर आयुश गुप्ताको सहभागिता रहेको थियो ।