वीरगन्ज,२६फागुन । पर्सा-बाराका उद्योगीले पर्सा–बारा ओैद्योगिक क्षेत्रमा नियमित विद्युत आपूर्ति गर्न माग गरेका छन् । केही दिनदेखि पर्सा–बारा औद्योगिक क्षेत्रमा अनियमित विद्युत कटौतीको समस्या देखिएपछि उनीहरुले त्यस्तो माग गरेका हुन् ।
उद्योगहरुमा विद्युत ट्रिपिङ हुने, अघोषित रुपमा घण्टौं विद्युत नआउने समस्या देखिएको उनीहरुको भनाइ छ । जसले गर्दा उद्योग प्रतिष्ठानहरु पूर्ण क्षमतामा सञ्चालन हुन नपाएको, औद्योगिक कच्चा पदार्थ नोक्सान भइरहेको, उत्पादनको गुणस्तरमा ह्रास आइरहेको उनीहरुको गुनासो छ ।
वीरगन्ज उद्योग वाणिज्य संघले गुणस्तरीय विद्युत आपूर्तिको अभावमा उद्योगको उत्पादन घट्ने, मेसिनरी पार्टपूर्जामा टुटफुट बढी आउने आदि समस्याहरु आइरहेको जनाएको छ । संघका अध्यक्ष डाक्टर सुबाेध गुप्ताले शुक्रबार विज्ञप्ति जारी गर्दै समस्या समाधान गरिदिन विद्युत प्राधिकरणसँग अनुरोध गरेका हुन् ।
अध्यक्ष गुप्ताद्वारा जारी विज्ञप्तिमा विद्युत प्राधिकरणले माग अनुसार विद्युत आपूर्ति गर्न नसक्ने भएमा निश्चित क्षेत्रमा लोडसेडिङ गरी अन्य क्षेत्रमा गुणस्तरीय विद्युत आपूर्ति गर्ने व्यवस्था मिलाई दिन आग्रह गरेका छन् । तालिका आउँदा उद्योगीहरुले सोही अनुसार उत्पादनको तालिका बनाएर उद्योग सञ्चालन गर्न सक्ने उनको भनाइ छ ।
‘उद्योग, व्यापारको अवस्था खस्कँदो छ, बैंक तथा वित्तीय संस्थाहरुले ब्याज दर बढाएका छन्, नेपाल राष्ट्र बैंकले हप्तैपिच्छे विभिन्न सर्कुलर जारी गर्छ । भारत लगायत अन्य मुलुकहरुसँगको व्यापारमा असन्तुलन छ,’ अध्यक्ष गुप्ताले भने, ‘यसले गर्दा नेपालको अर्थतन्त्र खस्किंदै गइरहेको छ । यस्तो अवस्थामा नेपाल विद्युत प्राधिकरणले प्रयाप्त विद्युत आपूर्ति नगर्दा बारा-पर्सा औद्योगिक करिडोरका उद्योगहरु झन् मर्कामा परेका छन् ।’साभार:अनलाइनखबर