वीरगञ्ज । बैंकको चर्को ब्याजदरका कारण उद्योग व्यापार टाट पल्टने अवस्थामा पुगेको भन्दै नीजी क्षेत्रले चिन्ता व्यक्त गरेका छन् । उद्योगी व्यवसायी धरासायी अवस्थामा पुग्दा पनि सरकार र राष्ट्र बैंक मुकदर्शक बनेको उनीहरुको आरोप छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघको ४७ औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्दै उद्योगी व्यवसायीले कोरोना महामारीले थलिएको नीजी क्षेत्र पूरानै लयमा फर्कदै गरेका बेला बैंकहरुको दोहोरो ब्याजदरले झन संकटमा परेको बताए ।
बैंकहरुको ब्याजदर एकल अंकमा नझारे काठमाण्डौमा मात्र नभइ देशभरमै उद्योगी व्यवपारी सडक आन्दोलनमा उत्रिने उनीहरुले चेतावनी पनि दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष दिनेश श्रेष्ठले चर्को ब्याजदरका कारण उद्योग व्यवसाय टाट पल्टने अवस्थामा पुगिरहेका बेला राष्ट्र बैंकका गर्भनरले गम्भिरतापूर्वक नलिएको टिप्पणी गरे । श्रेष्ठले भने, ‘सरकार पनि सत्ताको जोडघटाउमा व्यस्त छ, राष्ट्र बैंकका गर्भनर उद्योगी र बैंकबीच झगडा लगाएर बसेका छन् ।’
उद्योग व्यपारीको समस्या बारे सरकार र राष्ट्र बैंकका गर्भनर जानकार भएर पनि बुझ पचाएर रमिते मात्र बनेको श्रेष्ठको आरोप छ । उनिहरुलाई दबाब दिन सडक आन्दोलनमा उत्रिन उनले देशभरका उद्योगी व्यपारीलाई आह्वान पनि गरेका छन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एंव मधेश प्रदेश सरकारका पूर्वमन्त्री ओमप्रकाश शर्माले सरकार र राष्ट्र बैंकले उद्योगी व्यपारीलाई पिडा मात्रै दिने काम गरिरहेको बताए । शर्माले भने, ‘अर्थतन्त्र जस्तो अवस्थाम पुगेपनि बैंकहरुलाई कु्नै असर पुग्दैन किनकि उद्योगी व्यवसायीले ब्याज र ऋण तिर्न सकेन भने बैंकहरुले धितो लिलाम गरि आफनो ऋण असुली हाल्छन्, सडकमा पुग्ने भनेका त उद्योगी व्यवसायी मात्रै हुन् ।’ बैंकहरुको यो नियत बेलैमा बुझेर चर्को ब्याजदर विरुद्ध देशभरका उद्योगी व्यपारी सडकमा उत्रिनु पर्नेमा उनको जोड छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ताले पनि राष्ट्र बैंकले बैंकहरुको ब्याजदर एकल अंकमा नझारे उद्योगी व्यवसायी टाट पल्टिएर सडकमा पुग्ने बताए । उनले भने, ‘यदि नीजी क्षेत्र टाट पल्टियो भने मुलुकको अर्थतन्त्र पनि धरासायी हुन्छ ।’
वीरगञ्ज नाका अन्र्तराष्ट्रिय व्यापार र राजश्व दुवैका लागि महत्वपुर्ण भएपनि सरकारले यहाँका उद्योगी व्यपारीको हित हुने कुनै पनि काम नगरेको अध्यक्ष डा. गुप्ताको गुनासो छ । केहि महिना यता भईरहेको अघोषित लोडसेडींगका कारण पर्सा–बारा औद्योगिक कोरीडोरका उद्योगहरु झन् धेरै धरासायी बन्दै गएको पनि उनको दुखेसो छ ।
पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य अजय चौरसियाले अहिले देशैभरका उद्योगी व्यापारीहरुले खेपिरहेको समस्याका बारेमा आफुले संसद बैठकमा आवाज उठाउने आश्वासन दिए । वीरगञ्जका नीजी क्षेत्रकै साथ र समर्थनका कारण नै आफु पटक पटक संसदमा पुगेको स्मरण गराउँदै चौरसियाले नीजी क्षेत्रका बास्तविक समस्या संसदमा उठाउने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतम, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल, पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, नेपाल उद्योग बाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, पूर्वअध्यक्ष गणेश लाठ, संघका निवर्तमान अध्यक्ष गोपाल केडिया, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, उपमेयर इम्तियाज आलम, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, मधेश प्रदेश महासचिव श्याम बन्जारा, पर्सा अध्यक्ष अनुप तिवारी लगायतले सम्बोधन गरेका थिए ।