वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघ (विउवासंघ)को नवनिर्वाचित कार्यसमितिले खस्किदो अर्थतन्त्रका बारेमा चासो देखाएको छ । संघका नवनिर्वाचित अध्यक्ष अनिल कुमार अग्रवाल नेतृत्वको टोलीले सरकारमा नवनियुक्त मन्त्री तथा सम्बन्धी निकायका सरोकारवालासँगको भेटघाट र छलफललाई तिव्रता दिएको छ ।
अर्थमन्त्री डा. प्रकाशसरण महत, अर्थ सचिव तोयम राया, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, भन्सार विभागका महानिर्देशक चक्र बहादुर बुढा लगायतसँग संघको टोलीले भेटेर उद्योगी व्यवसायीका समस्या सुनाउनुका साथै समाधानका लागि सुझावसमेत दिएको अध्यक्ष अग्रवालले बताए ।
खस्किदो अर्थतन्त्रका साथै अनुचित नेपाल राष्ट्र बैंकको नितीका कारण भन्सार कार्यलयले अपेक्षित राजस्व संकलन गर्न नसकेको अग्रवालको भनाई छ । अर्थमन्त्री डा. महतको ध्यानाकर्षण गराउँदै उनले भन्सारमा लगाइने कर कम गर्नुका साथै ५० प्रतिशत पेनाल्टी लिने व्यवस्था पूर्ण रुपमा खारेज हुनुपर्ने माग गरे । राष्ट्र बैंकको सन्दर्भ पुस्तिका खारेज हुनुपर्ने बताउँदै उनले अहिलेका व्यवस्था लागू भएमा हुण्डी कारोवार बढ्न सक्नेतर्फ अर्थमन्त्री महतलाई सचेत गराएका छन् ।
धरासायी अवस्थामा रहेका उद्योग व्यवसायलाई उकास्ने र उद्योगी व्यवसायीलाई राहत दिने खालको योजना ल्याउन पनि अध्यक्ष अग्रवालले अर्थमन्त्रीसमक्ष माग गरेका छन् । सानो पूँजी कर्जा नियमनको कार्यन्वयन २ वर्षसम्म नरोके उद्योग व्यवसाय संकटमा पर्ने अध्यक्ष अग्रवालको भनाई छ । साथै उनले बैंकको चर्काे ब्याज दरका कारण व्यवसायीहरु पलायन हुनुपर्ने अवस्था आएकोमा चिन्ता व्यक्त गर्दै ब्याज दर घटाउनुपर्ने आवश्यक्ता औँल्याए । संघले उठाएका एजेण्डा र विषयप्रति अर्थमन्त्री महतले पनि सकारात्मक प्रतिक्रिया दिएका छन् । निजी क्षेत्रकै कारण देश चलीरहेको बताउँदै उनले आफ्नो कार्यकालमा निजी क्षेत्रलाई निराश नबनाउने प्रतिबद्धता व्यक्त गरे ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँगको भेटघाटका क्रममा संघले वीरगञ्ज पथलैयालाई औद्योगिक कोरिडोरको रुपमा घोषणा गर्न माग गरेको छ । पर्सा जिल्ला निवासी उद्योग मन्त्री भएकै समयमा औद्योगिक कोरिडोर घोषणा नभए कहिलै पनि नहुने हुँदा त्यसका लागि पहल गर्न संघले मन्त्री रिजाललाई आग्रह गरेको छ । मन्त्री रिजालकै कार्यकालमा बारा पर्सा औद्योगिक कोरिडोर घोषणा हुनुका साथै पर्सामा अझै औद्योगिक क्षेत्र बिस्तार हुने संघका अध्यक्ष अग्रवालको अपेक्षा छ ।
संघका उपाध्यक्ष माधव राजपालले पर्सा जिल्लाकै उद्योग मन्त्री भएको हुँदा अरु भन्दा बढी आशा राखेको सुनाए । उनले भने, ‘हाम्रै जिल्ला निवासी मन्त्री हुँदा हामीलाई अरुको तुलनामा अली धेरै आश लाग्नु स्वभाविक हो । तर पनि हामीले विगत देखि नै उठाएका एजेण्डामा मन्त्री ज्यू गम्भिर हुनुहुनेछ र केही निकास दिनुहुनेछ भन्नेमा हामी विश्वस्त छौँ ।’
उद्योग मन्त्री रिजालले उद्योगी व्यवसायीका समस्या समाधानका लागि आफु प्रतिबद्धत रहेको बताए । साथै सैद्धान्तीक तथा नैतिक रुपमा आएका बाधा अड्चनको समाधानका लागि पहले गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।
अर्थमन्त्री र उद्योग मन्त्रीसँगभै भन्सार विभागका महानिर्देशकसँगको भेटघाट समग्रमा सकारात्मक रहेको बताउँदै संघका महासचिव आशिष लाठले सोमवार पनि आन्तरिक राजस्व कार्यालयका प्रमुखलाई भेट्ने कार्यक्रम रहेको जानकारी दिए । महासचिव लाठकाअनुसार अध्यक्ष अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डलमा उपाध्यक्ष माधव राजपाल, सचिव प्रेमचन्द्र गोयल, सहसचिव नरेश टिवडेवाल, कोषाध्यक्ष शिवजी प्रसाद साह कलवार, कार्यसमिति सदस्य मनोज दास लगायत रहेका छन् ।