Birgunj News24

रिद्धिसिद्धी सिमेन्ट उद्योगका कारण धरापमा चेपाङ बस्ती 

हेटौंडा – रिद्धिसिद्धी सिमेन्ट उद्योगले अव्यवस्थित रुपमा चुनढुङ्गा उत्खनन् गर्दा खानी क्षेत्रका स्थानीयवासी समस्यामा परेका छन् । मकवानपुरको राक्सिराङ–४ गिङगुङ बस्तीका स्थानीयहरु उद्योगको लापरवाहीका कारण समस्यामा परेका हुन् ।

चुनढुङ्गा उत्खनन् गर्दा वनस्पतीहरुको विकासमा अवरोध, जीवजन्तुको बासस्थानमा हानीनोक्सानी, भौतिक स्वरुप विगार्ने, स्थानीयको सामाजिक रितीरिवाज तथा पाराम्पारिक अधिकारको उपयोगमा व्यवधान उत्पन्न गराउन नपाइने कानुनी प्रावधान छ ।

तर, उद्योगले राज्यको कानुनी प्रावधानलाई नै उलङ्घन गरेर चुनढुङ्गा उत्खनन् गरिरहेको छ । उद्योगको लापरवाहीपूर्ण चुनढुङ्गा उत्खननका कारण पानीको मुहान सुक्दै गएको छ भने चरिचरन क्षेत्रमा समेत क्षति भएको छ ।

त्स्तै चुनढुङ्गा उत्खननको क्रममा निस्किएका ओभर बर्डेनका कारण जीवजन्तुको बासस्थानमा हानीनोक्सानी, स्थानीयको खेती योग्य जमिन, सामाजिक रितीरिवाजसंगै दैनिकीमा समेत खलल पुर्याएको छ ।

उद्योगले कति क्षेत्रफलमा खानी सञ्चालन गरेको त्यति नै क्षेत्रफल बराबरको नम्बरी जग्गा खरिद गरेर राज्यलाई जग्गा उपलब्ध गराउनु पर्ने हुन्छ । उद्योगले राज्यलाई जग्गा दिनका लागि स्थानीयको खानी क्षेत्रको जग्गा खरिद गर्ने भनेको थियो । तर, उद्योगले जग्गा खरिद नगरि उल्टै स्थानीयकै जमिनमा ओभर वर्डेन फ्यालेर मनमौजी गरिहेको छ ।

माथि उल्लेखित समस्यालाई सम्बोधन गर्न माग गर्दै उद्योगको ज्यादती विरुद्ध स्थानीयहरु विरोधमा उत्रिएका छन् । हेटौंडामा पत्रकार सम्मेलन गर्दै नेपाल चेपाङ संघ, राक्सिराङ–४ नम्बर वडाका अध्यक्ष जितन चेपाङले अव्यवस्थित चुनढुङ्गा उत्खननको कारण प्रताडित भएको बताए । खानी क्षेत्रमा चुनढुङ्गा उत्खनन् गर्दा धुवाँ, धुलो र वर्खामा पहिरोको समस्या आफुहरुले झेल्दै आएको बताए ।

चेपाङका अनुसार उद्योगले खानी सञ्चालन गर्नुअघि २०७४ मा बस्तीको ७५ प्रतिशत जग्गा खरिद गरेर बाँकी जमिन पनि खरिद गर्ने सहमतिमा खानी सञ्चालन गरेको तर बाँकी जग्गा खरिद नगरि आफूहरुको जग्गा हडप्ने तयारी थालेको छ ।

उता उद्योग चलन चल्तिको मुल्यमा जग्गा किन्न तयार छैन । उद्योग किन्न तयार छ, ६ वर्ष अघिको पुरानै मुल्यमा । स्थानीय पुरानो मुल्यमा बेच्न तयार छैनन् । पुरानो मुल्य प्रति रोपनी १ लाख ४० हजार मूल्यमा स्थानीय बेच्न तयार नभए उद्योगले चुनढुङ्गा खन्दै जाने र स्थानीयको खेतबारी पुर्ने धम्की समेत दिएको स्थानीय पीडितहरुको आरोप छ ।

अदालतले खानी सञ्चालन रोक्न भने पनि उद्योगले अटेर गरेर चुनढुङ्गा उत्खनन् गरिरहेको स्थानीयहरुले बताएका छन् । खानीका कारण भोग्नु परेको समस्यालाई जिल्ला प्रशासन कार्यालय मकवानपुरदेखि स्थानीय सरकार राक्सिराङ गाउँपालिकालाई ध्यानाकर्षण गराए पनि कुनै सुनुवाई नभएको पीडित जनताहरुको भनाई छ ।

चेपाङ संघ बागमतीका अध्यक्ष खुशीलाल प्रजाले आफुहरुको माग सम्बोधन नभए खानीको ज्यादतीविरुद्ध चेपाङ संघले संघर्षका कार्यक्रम गर्ने बताए । उनले भोलीबाट खानीको सम्पूर्ण काम बन्द गराउने, उत्खनन निकासी, ढुवानी बन्द गराइने बताए । उद्योगले खानी सञ्चाल गरे कुनै क्षति भएमा त्यसको जिम्मेवार र जवाफदेही उद्योग पक्ष हुने समेत उनले बताए ।

खानी प्रभावित क्षेत्रको १ सय ३ रोपनी जग्गा खरिद गर्नुपर्ने, सो क्षेत्रमा बसोबास गर्ने ९ घर चेपाङ परिवारको उचित स्थानको खोजी गरि बसोबासको व्यवस्था गर्नुपर्ने, खानी उत्खनन गर्दा बग्ने माटोले पुरिएको बस्तीको व्यवस्थापन समयमै गर्नुपर्ने र धुवाँधुलो नियन्त्रण गर्नुपर्ने पीडितको माग छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  ००:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update