Birgunj News24
निर्वाचनले बजार भाउ फेरि उकालो लाग्दा उपभोक्ता दोहोरो मारमा

वीरगञ्ज, ३० कार्तिक । खुला अर्थतन्त्र भएको मुलुकमा प्रतिस्पर्धामा मूल्य निर्धारण हुन्छ भन्ने मान्यता हुन्छ । तर नेपालको बजारलाई हेर्ने हो भने मौसमी मूल्य वृृद्धिले उपभोक्ता हैरान भएका छन् । चाडवाड सकिने बित्तिकै आएको आम निर्वाचनले बजार भाउ फेरि उकालो लाग्दा उपभोक्ता दोहोरो मारमा परेका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि आय व्यय विवरण प्रस्तुत गर्दै यो वर्ष मूल्यवृद्धि ७ प्रतिशतमा सीमित राख्ने आश्वासन दिनुभयो । केन्द्रिय बैकको पछिल्लो तथ्याङ्क हेर्ने हो भने पनि पहिलो चौमास वित्दा ८ दशमलब ५ प्रतिशत बढी छ । यो तथ्याङ्ले मूल्य सरकारको नियन्त्रणमा छैन भन्ने पुष्टि हुन्छ । परनिर्भर अर्थतन्त्र भएको मुलुकमा समय समयको मूल्यवृद्धिले उपभोक्ता हैरान छन् । लगातार भाउ बढ्ने सोही मूल्य कायम रहने प्रवृत्तिले नेपालको व्यापारिक प्रणालीमा बारम्बार प्रश्न उठ्ने गरेको छ ।

 

विधानले नै उपभोक्ताले उचित मूल्यमा गुणस्तरीय उपभोग्य वस्तुको उपभोगलाई सुरक्षित गरेको छ । स्थानीय तहदेखि केन्द्रसम्म गरेर झण्डै हजारको संख्यामा नियमनकारी निकाय छन् । तर उपभोक्ता कहिले मूल्यमा कहिले गुणस्तरमा त परिमाणमा ठगिने क्रम रोकिएको छैन । बजार व्यवस्थापनको प्रणालीको विकास गर्न नसक्दा बजारको अराजकता नियन्त्रण हुन सकेको छैन । दशैं तिहार लगायतका ठूला चाडमा चर्को वृृद्धिको मार खेपेका नेपाली उपभोक्ता यतिबेला चुनावको चेपुवामा छन् ।

निर्वाचन आयोगले खर्चमा कडाई गरेपनि उम्मेदवारको खर्चको शैली अपेक्षाकृत रुपमा कम हुन सकेको छैन । जसको मार उभोक्तालाई नै परेको छ । चुनावमा व्यापारीले दलहरुलाई चन्दा दिने उपभोक्ताबाटै असुल्ले प्रवृत्तिले दोहोरो मारमा उपभोक्ता छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  २३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update